दुर्घटनाग्रस्त विमानका यात्रुको शव ल्याउने प्रयास, उद्धारमा २०० सुरक्षाकर्मी
म्याग्दी, फागुन १३ । म्याग्दीमा दुर्घटना परेको तारा एयरको विमानका मृतक यात्रुहरुको शव ल्याउने प्रयास भइरहेको छ । शव संकलन गरी हिजै पोखरा हुँदै काठमाडौं ल्याउने प्रयास गरिए पनि मौसममा खराबीका कारण उद्धारमा कठिनाई भएको थियो ।
आज बिहानबाट शव संकलन सुरु भएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जनाए । उद्धारमा करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजोको तुलनामा आज मौसम सफा रहेको पनि उनले जनाए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको दाना गाउँ विकास समिति–१ स्थित सोलीघोप्टे भीरमा हिजो दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको थियो । उद्धार टोलीले दुर्घटनामा परी जलेका यात्रुका शव यत्रतत्र छरिएको अवस्थामा संकलन गरेपनि मौसमको खराबीका कारण हिजो त्यहाँबाट ल्याउन सकेको थिएन ।
एकाएक हिमपात भएपछि उद्धारमा खटिएका सेना र प्रहरी फर्किएकाले आज पर्वतारोहीसमेत लिएर घटनास्थल जाने पोखरा विमानस्थलका प्रमुख दीपक बरालले जानकारी दिए ।
झण्डै २० हजार फिट उचाइको ठाडो भीरमा भएको दुर्घटनामा परी क्याप्टेन रोशन मानन्धर, को–पाइलट विकेश नेम्कुल र एअर होस्टेस रमा राउतका अतिरिक्त २० यात्रुको मृत्यु भएको थियो ।
यता, सरकारले जहाज दुर्घटनाको छानविन गर्न नागरिक उड्डयन प्राधीकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा समिति गठन गरेको छ । पर्यटन मन्त्रालयले गठन गरेको समितिलाई तीन महिनाको समय दिइएको छ ।
imagekhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses