कांग्रेसमा जबर्जस्ती नगर्न संस्थापन पक्षलाई देउवाका नेताको कडा चेतावनी
काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले विधान संशोधनका लागि संस्थापन पक्षले जबर्जस्ती गरेमा वैकल्पिक प्रस्ताव लैजाने चेतावनी दिनुभएको छ ।
काँग्रेसको विधान मस्यौदा समितिका सदस्यसमेत रहनुभएका नेता खाँडले अनावश्यक पदाधिकारी बढाउने गरी विधान संशोधन गर्न खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । उहाँले मस्यौदा समिति र केन्द्रीय समितिबाट बहुमतको बलमा पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेमा महाधिवेशनबाट आफूहरुले छुट्टै प्रस्ताव बहुमतले पारित गराउने बताउनुभयो । “पहिला पहिला जस्तो ‘नोट अफ डिसेन्ट’ लेखेर लुरुलुरु पछि लाग्ने अवस्था अहिले छैन, हामी अनावश्यक तरिकाले पार्टीलाई भद्दा र भद्रगोल बनाउन कुनै हालतमा दिँदैनाँै”–तरुण विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा नेता खाँडले भन्नुभयो ।
संस्थापन पक्षले पदाधिकारीको सङ्ख्या बढाउने कसरत गरिरहेका बेला खाँडको यस्तो भनाइ आएको हो ।
विधानमा अहिले व्यवस्था गरिएका धेरै पदमा नियुक्त गर्न नसकिरहेका बेला अरु पद थप्नु तर्क सङ्गत नभएको उहाँेको तर्क थियो । मुलुक सङ्घीयतामा गइसकेकाले प्रदेश समिति बनाउने गरी संशोधन गर्नुपर्ने बाध्यतालाई भने आफूहरुले पनि स्वीकारेको नेता खाँडले बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले बुढा र काम गर्न नसक्ने नेतालाई राखेर केन्द्रीय समितिलाई ‘डम्पिङ साइट’ बनाउन नहुने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नयाँ संविधानको व्यवस्थाअनुसार संशोधन गर्नै पर्नेबाहेक अन्य विषयमा अहिले संशोधन गर्नु न्यायसङ्गत नहुने उल्लेख गर्नुभयो । स्थानीयस्तरको अधिवेशन पुरानो विधानअनुसार अनि केन्द्रीय महाधिवेशन नयाँ विधानअनुसार गर्न खोज्नु अलोकतान्त्रिक हुने उहाँको तर्क छ ।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय मीन विश्वकर्मा र सीता गुरुङ, नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणालगायतले अहिले विधान संशोधन गर्नु उपयुक्त नहुने धारणा राख्नु भएको थियो । रासस
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses