तारा एयर दुर्घटना: अधिकांश शव टुक्रटुक्रा, कोही चिन्नै नसक्ने
पोखरा, फागुन १३ । तारा एयर दुर्घटनामा परी मृत्यु भएकाहरु मध्ये २० जनाको शव आज पोखरा ल्याइएको छ । एअर डाइनेष्टीको हेलिकप्टरबाट शव पोखरा ल्याइएको हो ।तीन जनाको शव भने घटनास्थलमै आफन्तलाई बुझाईएको छ । मुस्ताङकी विनिता भट्टचन, उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको शव पहिचान गरी आफन्तले घटनास्थलमै बुझेका हुन् ।
उनीहरुको शव मुस्ताङमै पोष्टमार्टम गरिने छ । पोखरा ल्याइएका शवहरु पनि पोष्टमार्टम गरेर मात्र आफन्तलाई बुझाइने कास्कीका प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोखरेलले बताए ।
क्याप्टेन रोशन मानन्धर, मुस्ताङकी विनिता भट्टचन,उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको मात्र शव मात्रै चिन्न सकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अन्य शवहरुको अधिकांश भाग जलेको अवस्थामा रहेको छ । तीन वटा शव भने टुक्राटुक्रा भएको अवस्थामा फेला परेका छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मृतकका आफन्तले उद्धारमा सहयोग गरेका थिए । पोखरा विमानस्थलमा मृतकका आफन्त र सर्वसाधारणको ठूलो भीड लागेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान हिजो विहान म्याग्दीको दाना गाविस–१ स्थित सोलीघोप्टे भीरमा दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको थियो ।
imagekhabar
0 comments
Write Down Your Responses