‘झन्डाको अपमान हुँदा ओली मूकदर्शक’
काठमाडौं: आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा नेपाली राष्ट्रिय झन्डाको अपमान हुँदा प्रधानमन्त्री केपी ओली मूकदर्शक बनेको आरोप लगाएको छ ।भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि गुजरातमा फहराइएको नेपालको राष्ट्रिय झन्डा त्रिकोणात्मक हुनुपर्नेमा चारवटा कुना भएको राखिएको थियो । आफ्नो राष्ट्रिय झन्डालाई भारतमा विकृत रूपमा प्रदर्शन गरिँदा प्रधानमन्त्री ओली प्रतिक्रियाविहीन हुनुलाई मोर्चाले अपमानको संज्ञा दिँदै विरोध गरेको हो ।
नेपाली झन्डाको अपमान हुँदा पनि सरकारले आपत्ति प्रकट नगरेको भन्दै मोर्चाले विरोध जनाएको छ । ‘उहाँहरूलाई सत्ताको मोह छ । राष्ट्र र राष्ट्रिय पहिचानका आधारहरूको कुनै लोभ र मोह छैन’, सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले अन्नपूर्णसँग भने ।
मोर्चाको बैठकले मधेस आन्दोलनका क्रममा षड्यन्त्रकारीले चिनियाँ झन्डा जलाएको प्रति आपत्ति जनाउँदै सरकारले आन्दोलनकारीलाई पक्राउ गरी थुनामा राख्ने तर अहिले राष्ट्रिय झन्डाको अपमान हुँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएको छ ।
मोर्चाले प्रधानमन्त्रीको भारत भ्रमण असफल रहेको ठहर गर्दै आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा शनिबार बिहान बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको ठहर गरेको हो ।
मोर्चालाई संविधान घोषणा, संविधान संशोधन र सीमांकनका लागि गठित राजनीतिक समितिजस्ता महत्वपूर्ण कार्यमा संलग्न नगराएका कारण भारतले ओलीको भ्रमणका क्रममा पनि संविधानको स्वागत नगरेको निष्कर्ष मोर्चाले निकालेको छ ।
‘ओलीको भ्रमणमात्र असफल भएन, उनले गुजरात भ्रमण गर्दा त्यहाँ नेपाली झन्डाको अपमान भयो । राष्ट्रिय झन्डाको अपमान हुँदा मुलुकका प्रधानमन्त्रीले किन आपत्ति जनाएनन्’ भन्ने विषयमा बैठकमा गम्भीर छलफल भएको स्रोतले बतायो ।
मोर्चाले आगामी चैत पहिलो सातादेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । मोर्चाले भाबी आन्दोलन तय गर्न सात सदस्यीय सचिवालय गठन गरेको छ ।
सचिवालयमा फोरम नेपालका राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका सुमन, तराई मधेस लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लाल, तराई मधेस सद्भावना पार्टीका रामनरेश राय, राष्ट्रिय मधेस समाजवादी पार्टीका केशव झा, सद्भावनाका कौशलेन्द्र मि श्र र गणतान्त्रिक फोरमका परमेश साह छन् ।
आफ्ना माग र आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि बैठकले गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।
मोर्चाले इन्धनलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र ब्याज तथा कर मिनाहा गर्न सरकारसँग माग गरेको छ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले भने, ‘हाम्रा कार्यकर्ता पक्राउ गर्ने तथा झूट्टा मुद्दा लगाउने कार्य भएका छन् । त्यो तत्काल रोक्नुपर्छ ।’
annapurnapost
0 comments
Write Down Your Responses