कालिकोटको आकाशबाट विमान खस्दै गर्दा यात्रुलाई यसरी सान्त्वना दिएका थिए चालकले !
काठमाण्डु, १४ फागुन-नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको हो । पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृत्यु भएको छ । शुक्रबार दिउँसो एक बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए । सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो ।
‘ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो’, प्रत्यक्षदर्शी कटुवालले भने ।
खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । ‘जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,’ उनले भने । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिए । ‘एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन’, अहेव रावलले भने । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उनले बताए ।
‘बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,’ अहेव रावलले भने, ‘हामीले सक्दो उपचार ग¥यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।’ विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।
अहिले चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरिरहनु भएको छ । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए । अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाण्डु स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ । ‘सबै जना होसमै छन्’, उपचारमा संलग्न अहेव रावलले भने ।
अहिले घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् । घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए । ‘जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ’, घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु प¥यो ।
एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर शुक्रबार दिउँसो १२:३० वजे जुम्लाका लागि उडेको थियो ।
kathmandutoday
0 comments
Write Down Your Responses