दुर्घटनामा परेको यो ‘फुच्चे जहाज’ कहाँ बनेको हो ? के छ यसको दोष ?
काठमाडौं, १४ फागुन । कालीकोटमा आज दुर्घटना भएको एयर काष्ठमण्डपको जहाज सिङ्गल इञ्जिनको रहेको कम्पनीले जनाएको छ ।पाइलट, कोपाइलट र एयर होस्टेज तथा ८ यात्रु गरी एघार जना क्षमता राख्ने ‘फुच्चे जहाज’ अर्थात सानो यो जहाज पहाडी क्षेत्रमा उडानका लागि निर्माण गरिएको हो ।
सन् २०१० मा न्यूजिल्याण्डको प्यासेफिक एयर स्पेस कम्पनीले निर्माण गरेको फुच्चे जहाजको नेपाली मूल्य करिव १५ करोड पर्छ । एयर काष्ठमण्डपका अनुसार सोही रकम बराबर बीमा पनि गरिएको छ ।
काठमाडौंको प्रभू इन्स्योरेन्स कम्पनीमा बीमा भएको यो जहाजले छिट्टै आफ्नो रकम पनि पाउनेछ । कम्पनीलाई जहाज दुर्घटना हुँदैमा आर्थिक समस्या भने पर्ने छैन । तर ठूलो नोक्सानी जहाजमा बसेकाको परिवारलाई भएको छ ।
एक जना पाइलटले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘जहाज कम्पनीलाई केही घाटा हुँदैन । जहाजको बीमा भएको हुन्छ । मालिकले पैसा पाइहाल्छन् । नोक्सानी भनेको जहाजमा बस्ने र उनीको परिवारलाई हुन्छ ।’
सिङ्गल इञ्जिनको यो ‘फुच्चे जहाज’का यात्रुको पनि बीमा गरिएको एयर काष्ठमण्डपले जनाएको छ । बीमा रकमअनुसार मृतकका आफन्तले अन्दाजी १६ हजार डलर अर्थात १७ देखि १८ लाखसम्म रकम पाउनेछन् । कम्पनीको काठमाडौंस्थित केन्द्रीय कार्यालयले घाइतेको सम्पर्ण खर्च ब्यहोर्ने जनाएको छ ।
एयर काष्ठमण्डपका अध्यक्ष प्रज्वल श्रेष्ठ हुन् । यसमा श्रेष्ठको लगानी छ । यो कम्पनीसँग आज दुर्घटना भएको जहाजसहित दुई वटा मात्रै जहाज थिए । अब यस्तो जहाज एउटा मात्रै बाँकी छ ।
कालीकोट प्रहरीका अनुसार सानो जहाज भएकाले खेतमा अवतर गर्ने क्रममा कम मानवीय क्षति भएको अनुमान छ । जहाजमा खराबी आउनेवित्तिकै चालक दलले जोखिम मोलेर खेतमा सुरक्षित अवतरणको प्रयास गरेका हुन् ।
dainiknepal
0 comments
Write Down Your Responses