मधेसको समस्या समाधानबारे पूर्व राष्ट्रपति यादवले दिए यस्तो सल्लाह

काठमाण्डु, ११ फागुन-पूर्वराष्ट्रपति रामवरण यादवले नेपाल भाषा र मैथिली भाषाका ग्रन्थ र त्यसमा उल्लिखित तथ्य आजको सन्दर्भमा पनि निक्कै महत्वपूर्ण रहेको बताएका छन् ।
तेज–तीर्थ ट्रस्टले मंगलबार आयोजना गरेको कार्यक्रमको उदघाटन गर्दै यादवले नेपालको अस्तित्व र पहिचानलाई बचाइराख्ने नेपाल भाषाको विकास तथा बोलीचालीमा व्यापकता लिच्छविकालदेखि नै भएको बताए । उनले संविधान घोषणा गर्नुपूर्व मधेसी, आदिवासी, थारूजस्ता सबै समुदायलाई समेटेर संविधान निर्माण गर्न राजनीतिक दललाई आफूले सुझाव दिएको स्मरण गर्दै मधेसको समस्या समाधान गर्नेतर्फ सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराए ।
कार्यक्रममा डा यादवले नेपाल भाषाका वरिष्ठ साहित्यकार तिलकप्रसाद कायस्थ र महिला साहित्यकार डा सुवर्णकेशरी चित्रकारलाई तेज–तीर्थ नेपाल भाषा साहित्य पुरस्कार प्रदान गरे । सो पुरस्कारको राशि जनही ५० हजार तथा साथमा सम्मानपत्र छन् ।
ट्रस्टका अध्यक्ष तीर्थराम डङ्गोलले नेपाल भाषाका क्षेत्रमा साहित्यको माध्यमबाट लामो समयदेखि योगदान गर्ने साहित्यकारलाई प्रोत्साहन दिन हरेक वर्ष ५० हजारको पुरस्कारको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार पत्रकारिता तथा प्रजातान्त्रिक आन्दोलनमा भाग लिने व्यक्तिलाई प्रोत्साहन दिन पनि पुरस्कारको स्थापना गरिएको छ । सो ट्रस्ट स्थापनाका लागि डङ्गोलले एक करोड प्रदान गरेका थिए ।
नेवार समुदायले बोल्ने नेपाल भाषाले देशको नै पहिचान राख्ने भएकाले यसको विकासका लागि राज्यले प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा वक्ताहरुले जोड दिए । झन्डै ५०० वर्षअघिदेखि नेपाल भाषामा गीत, सङ्गीत, कविता, निबन्धजस्ता साहित्यको लेखन सुरु भएको बताइएको छ । लिच्छवि, मल्ल तथा शाहकालमा पनि नेपाल भाषाको साहित्य निरन्तर रुपमा विकास तथा जनस्तरबाट संरक्षण भइआएको छ । हालसम्म नेपाल भाषामा २० हजारभन्दा बढी शीर्षकका पुस्तक प्रकाशन भइसकेको छ । झन्डै ४०० वर्षअघिदेखि नेपाल भाषामा नाटक लेखन सुरु भएको हो ।
kathmandutoday
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses