रामचन्द्र पौडेलले भने, ‘अन्त्यसम्म प्रयास गरे तर सफल भइन’
शनिबार, १५ फागुन
काठमाडौं । नेपाली काँग्रेस यतिबेला पार्टीको १३ औं महाधिवेशनको तयारीमा जुटेको छ ।
आगामी महाधिवेशनमा सभापतिका लागि निश्चित उम्मेदवार जस्तै हुन्, रामचन्द्र पौडेल र शेरबहादुर देउवा ।
देउवा आफ्नो प्यानलमा विमलेन्द्र निधिलाई उपसभापति र यसअघि संस्थापन पक्षमै रहेका अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।
यता संस्थापन पक्ष भने सुशील कोइरालाको निधनसँगै भद्रगोल अवस्थामा छ । कार्यबहाक सभापति समेत रहेका रामचन्द्र पौडेललाई संस्थापनका थुप्रै नेताहरु व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ ।
उनी अहिले प्रकाशमान सिंहलाई उपसभापति र सशांक कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाएर देउवासँग प्रतिस्पर्धा गर्ने तयारीमा देखिएका छन् । तर उनले संस्थापन पक्षकै अर्का महामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलाउन सकिरहेका छैनन् ।
सिटौला गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रन लागेको चर्चा बाहिर आएको छ । उनले पौडेलमाथि शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा मुख्य भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।
यो कुरा आजको होइन, तर यसको चर्चा यतिबेला व्यापक बनिरहेको छ । करिब १४ वर्षअघि शेरबहादुर देउवा नेतृत्वमा नेपाली काँग्रेस प्रजातान्त्रिक गठन भएको थियो ।
त्यसबेला रामचन्द्र पौडेल र शेरबहादुर देउवा निकै नजिक रहेपनि पार्टी विभाजन हुँदा पौडेल देउवातिर नलागी संस्थापन पक्षमा नै बसे । त्यसबेला पौडेलले पार्टी विभाजन हुनुअघि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेका थिए ।
त्यसबेला पौडेलले गिरिजाप्रसाद कोइरालालाई देउवामाथिको कारबाही फुकुवा गर्न आग्रह गरेका थिए । तर कोइरालाले मानेनन् । रामचन्द्र पौडेलले त्यसबेला विज्ञप्ती निकालेर ‘मैले अन्तिम समयसम्म प्रयास गरेको तर सफल नभएको’ भन्दै सबै नेता कार्यकर्तालाई संस्थापन पक्षमा नै रहन आग्रह गरेका थिए ।
पौडेलको यस्तो आग्रह पछि केही नेता कार्यकर्ताहरु फेरि संस्थापन पक्षमा फर्किएपनि त्यसले सिंगो काँग्रेस पार्टीलाई भने एक ढिक्का पार्न सकेन । देउवा नेतृत्वमा प्रजातान्त्रिक काँग्रेसको जन्म भयो । त्यसको अपजस पौडेलले बेलाबेलामा पाउने गरेका छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses