मधेस आन्दोलन उचाल्न अमरेशलाई अर्यालको एक करोड ?
काठमाडौं, १० फागुन । ‘दक्षिणका दलाल’को संज्ञा पाएका नेपाली कांग्रेसका युवा नेता अमरेशकुमार सिंहले यसपटकको लामो मधेस आन्दोलनताक एक करोड रुपैयाँ नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट थापेको कुराले बजारमा सनसनी मच्चिएको छ ।नेपाल प्रहरी उच्च स्रोतकाअनुसार मधेस आन्दोलनका लागि पैसा त पारिबाटै आइरहेको थियो । तर काठमाडौंमा अमरेशकुमार सिंहले पनि आफ्नो दुनो सोझ्याउँने, मालदार अड्डा, व्यापारी, उद्योगीसँग आन्दोलनका नाममा पैसा उठाउँने काम गरिरहेका थिए । यत्तिकैमा पावरफुल आयोग हाँकिरहेका अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की भएको ठाउँमा पनि सिंह पुगे । लोकमानको पावर जति नै भए पनि उनले ठाउँको ठाउँ पैसा झिक्ने अवस्थामा छैनन् । यस्तोमा लोकमानले नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई फोन गरिदिए । फोनमा लोकमानले राजषी ठाँटमा ‘अमरेश आउँदैछ, त्यसलाई एक करोड रुपैयाँको बन्दोबस्त गरिदिनू ।’ लोकमानले फोन राख्न नपाउँदै अर्याल एकपल्ट झस्किए । उनले के काममका लागि एक करोड अमरेशलाई दिनु परेको हो बुझ्न सकेनन् । कारण खोतल्न थालेपछि अर्यालले पनि मधेसमा आगो बालेर नेपाली–नेपालीबीच मार्न लगाउँने, आफ्नै जवानको टाउको फुटाउँने अमरेशलाई पुलिसका सर्वोच्च कमान्डरले पैसा दिनु पर्ने नियतिबाट दुःखी पनि भए । तर यो मुलुक यसैगरी चलेको रहेछ , मैले मात्रै गर्न खोजेर हुँदैन भन्दै पैसाको जोहो गर्न लागे ।
अर्यालले त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकमा कारोबार रहेका एक व्यपारीलाई पैसाको बन्दोबस्त गर्न फेरि आदेश दिए । ती व्यापारीले नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमु्ख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई फोन गरे । पाण्डेले पैसाको बन्दोबस्त गर्ने जुक्तिअनुसार यो प्रकरणमा जोडिएका ती व्यापारीलाई ठाउँको ठाउँ एक करोड रुपैयाँ ऋण सदर गरिदिए । व्यापारीले एक करोड झिकेर उपेन्द्रलाई दिए । उपेन्द्रले अमरेशलाई बोलाएर हजार हजारका सय वटा एक झोला पैसा थमाइदिए । चार जनाबीचको कुरा भए पनि यो विषय बाहिरीयो । घटना एक कान दुई कान हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुग्यो । ओली चौतर्फी संकटमा घेरिएको बेला उनले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई चलाएनन् । लोकमानलाई ओलीले चलाउँन सक्ने कुरै भएन । अमरेशलाई त भारतले नै नेपालको राजनीतिको सूचना दिनु भनेर तलब खुवाएर राखेको चर्चा बाहिर छ । अमरेशलाई ओलीले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । तर शुद्ध कर्मचारी मात्रै रहेको उपेन्द्रकान्त अर्याललाई भने कारबाहीको मुडमा प्रधानमन्त्री छन् । प्रधानमन्त्री केपी ओली भारत भ्रमण सकेर नेपाल आएपछि उनले कामका थालनी नै अर्याललाई गलत्याएर हुने जानकारहरु दाबी गर्छन् ।
तत्कालीन समयमा अख्तिायार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त कसलाई बनाउने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेन । त्यो बेला भारतको इशारा र भारतकै इच्छामा लोकमानको नाममा प्रमुख दलहरुबीच कुरा मिलेको चर्चा चल्यो । अहिले लोकमानले स्पेसल २६ जनाको नाम सार्वजनिक गरेर अनुसन्धान सुरु गरेपछि कांग्रेस एमाले र माओवादीमा भूइँचालो गएको छ । नेकपा एमालेका नेता तथा ती २६ मा मध्येका एक राजेन्द्र पाण्डेले त भारतको इशारामा नेपालका राष्ट्रभक्त र नाकाबन्दीको विरोध गर्नेहरुलाई लोकमानमार्फत कारबाही सुरु भएको सार्वजनिक रुपमै बोलेका थिए । लोकमानलाई पनि समस्या उस्तै छ । पाले र पिउनमात्रै समाउँदा ठूला माछा समाएन भन्ने आरोप लाग्यो । नेताहरुलाई कारबाहीको दायरामा ल्याउँदा भारतको जासुस भन्ने आरोप लागेको छ ।
यति भन्दैमा लोकमान पानीमाथिको ओभानो हुने अवस्थामा चाहीँ छैनन् । किनभने उनले आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि अनुसन्धान सुरु गरेर उनलाई जोगाउने उल्टो गिएर फिट गरिदिए । अख्तियारले अनुसन्धान सुरु गरेपछि अरुले वास्ता गरेका छैनन् । खुलेआम खड्काले नियमविपरीत कार्य गर्दा पनि अख्तियार अनुसन्धानलाई मुल्तवीमा राखेर खड्काको जागिर जोगाइरहेको छ । अर्कोतर्फ गणेश थापालाई सफाइ दिने अख्तियार नै हो । उनलाई फिफाले भने जरिवानासहित १० वर्ष प्रतिबन्ध लगाएको छ । त्रिपाल काण्डका नाइके विवादास्पद सरकारी सचिव अर्जुनबहादुर कार्कीलाई पनि विभागीय कारबाही गर्नुभनेर चोख्याइ दिने लोकमान नै हुन् । कार्कीसँग लोकमानको घनिष्ठता पहिलेदेखि नै हो । अर्कोतिर गणेश थापाका भान्जालाई त लोकमानले आफ्नी कान्छी छोरीको बिहे गरिदिँदैछन् । यति भएपछि कुरा बुझ्न गाह्रो पर्दैन । आयल निगमका खड्का पनि लोकमानका आफन्त नै हुन् । अमृत बजार साप्ताहिकमा समाचार छ ।
dainiknepal
0 comments
Write Down Your Responses