भूकम्पपछिको पुर्ननिर्माण अवलोकन गर्न अोली मोदीको गाउँ प्रस्थान
नयां दिल्लीः भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान भारतीय राज्य गुजरातको भुज प्रस्थान गरेका छन् ।

भुकम्पपछिको पुर्ननिर्माणमा भुजको अनुभवबारे जानकारी लिन उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत र प्रतिनिधीमण्डल सहित ओली त्यसतर्फ लागेका हुन् ।

‘प्रधानमन्त्रीले भुकम्प पछिको पुर्ननिर्माण परियोजनासंबन्धि भुजको अनुभवबारे जानकारी लिनुहुनेछ’ ओलीका बिदेश मामिला विज्ञ गोपाल खनालले अन्नपूर्ण अनलाइनसंग भने ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घर पनि हो । भुज पुगेलगत्तै बिहान १० बजे प्रधानमन्त्रीलाई रिजेन्टा रिसोर्टमा त्यहांका सरकारी अधिकारीहरुले भुजको पुर्ननिर्माणबारे प्रस्तुती दिनेछन् ।

त्यसैगरी साढे ११ बजे प्रधानमन्त्रीले भिमसारस्थित ‘रिलोकेशन साइट’ को अवलोकन गर्नेछन् । भुकम्पका कारण अन्य बस्ती सारिएका क्षेत्रका जनतासंग प्रधानमन्त्रीले भेट्नेछन् ।

आजै दिउंसो सवा एकबजेदेखि प्रधानमन्त्री ओलीले मुन्द्रा ‘रिलोकेशन साइट’ र जि.के अस्पतालको अवलोकन गर्नेछन् ।

सन् २००१ मा गुजरातमा गएको ७.७ रेक्टर स्केलको भुकम्पमा परी २० हजार २३ जनाले ज्यान गुमाएका थिए भने १ लाख ६७ हजार घाइते भएका थिए । सोही भुकम्पबाट पाकिस्तानमा समेत १७ जनाको ज्यान गएको थियो ।

उक्त भुकम्पले ४ लाख जनताको घरवास उठाइदिएको थियो । तर भारत सरकारले उक्त भारतीय राज्यको पुर्ननिर्माण प्रक्रिया सफलतापूवर्क सम्पन्न गरेको थियो ।

भुजको अवलोकन भ्रमण पछि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधीमण्डल मंगलबार साँझ ४ बजे भारतको ब्यापारिक सहर मुम्बुई तर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

मुम्बईमा भोली बुधबार बलिउड कलाकारहरुसंग प्रधानमन्त्रीले अन्र्तक्रिया गर्नेछन् । नेपाली चेली तथा अभिनेत्री मनिषा कोइरालाले उक्त कार्यक्रमको संयोजन गरेकी छिन् ।

बलिउडका चर्चित अभिनेता अमिताथ बच्चन लगायतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । त्यस्तै भारतीय ब्यापारिक कम्पनी हिन्दुस्तान युनिलिभरको समेत प्रधानमन्त्रीले भ्रमण गर्नेछन् ।

मुम्बईमा रहेका भारतीय ब्यारी तथा उद्योगीसंग प्रधानमन्त्रीले नेपालमा भारतीय निजी क्षेत्रको लगानी लगायतका बिषयमा छलफल गर्नेछन् । मुम्बईका गभर्नरले दिने दिवाभोजमा प्रधानमन्त्री सहभागि हुनेछन् ।

६ दिनको राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली मुम्बईबाट सोझै बुधबार साँझ ८ बजे काठमाडौ अवतरण गर्नेछन् ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses