आईसीसीले नेपाली क्रिकेटलाई निलम्बन गर्दै
काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ ।
विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ ।
आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई बेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्यार्कुयालको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो ।
मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन ।प्यार्कुयाल त्यही क्यानका महासचिव हुन् ।
पुस १८ गते राखेपले सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । त्यसविरुद्ध प्यार्कुयाल सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै निर्णय भएको छैन ।
२०१५ को नोभेम्बर ८ मा गरेको पछिल्लो पत्राचारपछि क्यानको स्थिति अझ दयनीय भएको जनाउँदै एन्डरसनले नेपाल पठाएको पत्रमा भनेका छन ‘नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी अझै स्पष्ट हुन सकेका छैनौं ।
यो स्थिति समाधान नभएपछि नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको हिसाबमा कार्य गर्न पाउने छैन । यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । यो रहेसम्म नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
एन्डरसनले अगाडि भनेका छन, ‘आईसीसी बोर्डलाई यो विषयमा अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ र स्थिति यही रहिरहेमा आईसीसी बोर्डले क्यानको निलम्बनसम्मको कारबाही गर्न सक्नेछ ।’ दुई फरक क्रिकेट बोर्ड अस्तित्वमा देखिएपछि आईसीसीले गत वर्ष नै अमेरिकालाई निलम्बन गरेको थियो ।
अहिले नेपाली क्रिकेट त्यही स्थितिमा आइपुगेको हो ।
एन्डरसनको पत्रले नेपालले वैशाख २ र ४ गते नामिबियासँग कीर्तिपुरमा खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल पनि शंकाको घेरामा छ ।
‘क्यान चलायमन नहुने हो भने नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल कसरी हुन्छ यो भन्न गाह्रो छ । यस विषयमा आईसीसीले मार्चमा आफ्नो स्पष्ट धारणा बनाउनेछ,’ एन्डरसनको पत्रमा उल्लेख छ । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses