अपडेटः भेटियो तारा एयरको दुर्घटनाग्रस्त विमान, यो हो दुर्घटनाग्रस्त स्थल
मुस्ताङ, १२ फागुन । आज विहानै हराएको तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परेको छ ।पोखरादेखि जोमसोमको लागि उडेको तारा एयरको ९ एन एएचएच विमान म्याग्दीको दाना गाविसस्थित रुप्से छहरामाथिको डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङका स्थानीयबासीले बताएका छन् ।
मुस्ताङ बस तथा जीप व्यवसायी समितका उपाध्यक्ष शुरेश सुनुवारले रुप्सेको छहरामाथिको डाँडामा विमान दुर्घटना भएको बताए । रुप्सेमा रहेका उनले भने– ‘त्यो डाँडासम्म पुग्दा विमानको आवाज सुनिएको थियो ।
त्यसपछि सुनिएन् । त्यसै ठाउँमा आगो बलेको देखियो । त्यो आगोको अहिलेसम्म पनि धुवा आइरहेको छ ।’
अहिलेसम्म उक्त ठाउँमा कोही पनि पुग्न नसकेको उनले बताए । ‘प्रहरी र सेनाहरुको टोली यहाँबाट हिडेको तर, त्यहाँ पुग्नका लागि बेनी–जोमसोम सडकखण्डदेखि करिब तीन घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यसकारण अहिले नै दुर्घटनास्थलमा कोही पुग्न सक्ने अवस्था छैन्’ उनले भने ।
मौसम खराब भएकाले हेलिकप्टर पनि दुर्घटनास्थल जान नसकेको उनले बताए । यसअघि मुस्ताङ प्रहरी प्रमुख हरिहर योगीले मौसम खराब भएका कारण घटनास्थलमा हेलिकप्टर जान नसकेको बताएका थिए ।
विमानमा पाइलटसहित २३ जना सवार थिए ।
दुर्घटनास्थल जाने प्रयासः
आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको जहाजको म्याग्दी र मुस्ताङको सीमा क्षेत्रलाई आधार बनाएर खोजी कार्य तीब्र पारिएको छ । बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कविहिन बनेको छ ।
म्याग्दी र दानाको सीमा क्षेत्रमा उक्त जहाज दुर्घटनामा परेको हुनसक्ने आँकलन गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ । त्यस्तै, म्याग्दी र मुस्ताङका सुरक्षा निकाय समेत खोजी कार्यमा जुटेका छन् ।
म्याग्दीको दानाको आकाससम्म बिहान जहाज उडेको आवाज सुनिएको आधारमा त्यसभन्दा माथिको भू–भाग र मुस्ताङको घाँस क्षेत्रलाई आधार बनाएर खोजी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
मुस्ताङको घाँसा र म्याग्दीको दाना गाविसको काभ्रेको बीचमा अग्ला पहाड रहेको कारण त्यस क्षेत्रमा दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको छ । यो क्षेत्र म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्छ ।
अहिले सम्पर्कविहिन भएको क्षेत्रमा खोजी कार्यको लागि म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कालगायतको सुरक्षा निकायको टोलीसमेत त्यसतर्फ परिचालन भएको छ ।
नागरिक उड्डयन कार्यालय पोखराका अनुसार उक्त ९ एनएएचएच ट्विनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीनजना रहेका छन् । रासस
dainiknepal
0 comments
Write Down Your Responses