नेपालमा विमान दुर्घटना : चैत र वैशाखमा सबैभन्दा बढी
१३ फागुन, काठमाडौं । नेपाली आकाशबाट अहिलेसम्म ५९ वटा हवाइ जहाज खसेर ध्वस्त भएका छन् । हवाइ जहाजहरु सानातिना दुर्घटनामा परेको सूचि पनि लामो रहेको छ ।भौगोलिक मुलुक भएको हुँदा नेपालमा सामन्यतया मौसमका कारण हवाइ दुर्घटना हुने गरेको बताइन्छ । खासगरी मंसिरदेखि फागुन महिनासम्म नेपालमा कुहिरोले ढाक्ने हुँदा हवाइ दुर्घटना हुने बढी सम्भवना हुन्छ ।
तर, नेपालमा हवाइ जहाज दुर्घटनाको इतिहास हेर्दा बैशाख-जेठ (मे) महिनामा बढी भएको देखिन्छ । कुहिरोले ढाक्ने महिनामा त्यति धेरै जहाज दुर्घटनामा नपरेको अन्तर्राष्ट्रिय हवाइ दुर्घटना अभिलेखालयको तथ्यांकले देखाउँछ ।
वैशाखको मध्यदेखि जेठको मध्यसम्म एक महिनामा ९ वटा हवाइ जहाज दुर्घटनामा परेका छन् । जबकी पुसको मध्यदेखि वैशाख मध्यसम्म १२ दुर्घटना भएको तथ्यांक देखाउँछ ।
अभिलेखालयको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म बढी हवाइ जहाज दुर्घटनामा परेका छन् । नेपालमा पर्यटकीय सिजनमा बढी हवाइ दुर्घटना भएको देखिन्छ । बसन्त ऋतु र शरद ऋतु नेपालमा मुख्य पर्यटकीय सिजन मानिन्छ । यही बेला विमान दुर्घटना उच्च देखिन्छ ।
नेपालको पर्यटन उच्च पहाडी तथा हिमाली क्षेत्रमा आधारित छ । त्यहाँसम्म पुग्ने सडक यातायात राम्रो नुहँदा हवाइ मार्ग प्रयोग गर्नुपर्छ । पर्यटकीय सिजनमा बढी चार्टर्ड फ्लाइट हुने हुँदा दुर्घटना पनि बढी हुने गरेको तथ्यांकबाट स्पष्ट हुन्छ ।
त्यसो त पछिल्ला दुईवटा हवाइ दुर्घटना फागुन महिनामा भएका छन । हिजोमात्र फागुन १२ गते म्याग्दीको सोली घोप्टेमा तारा एयरको ट्वीनअटर खस्यो । दुई वर्षअघि फागुन ४ गते अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको ट्वीनअटर खसेको थियो ।
असार मध्यदेखि साउन मध्यसम्म (जुलाई) दोस्रो धेरै हवाइ जहाज दुर्घटना भएको महिना हो । यस महिना ८ वटा हवाइ जहाज दुर्घटनाग्रस्त भएका छन् । त्यस्तै, अगष्ट महिना र सेप्टेम्बर (साउन-असोज)मा ६/६ वटा हवाइ जहाज दुर्घटनामा परे ।
अक्टोबर (असोज-कार्तिक)मा ४, नोभेम्बर (कार्तिक-मंसिर)मा ५, डिसेम्बर (मंसिर-पुस)मा ४, जनवरी (पुस-माघ)मा २, फेबुअरी (माघ-फागुन)मा ४, मार्च (फागुन-चैत)मा ४ र अप्रिल (चैत-वैशाख)मा २ वटा हवाइ जहाज दुर्घटना भएको छ ।
नेपालमा सबैभन्दा कम हवाइ दुर्घटना भएको महिना जनवरी (पुस-माघ) र अप्रिल (चैत-वैशाख) महिना रहेका छन् । यी दुई महिनामा २/२ वटामात्र हवाइ जहाज दुर्घटनामा परेको तथ्यांक छ ।
onlinekhabar
0 comments
Write Down Your Responses