प्रेमका कथा कोर्दै संगीता
काठमाडौं: 'हरेक मान्छे प्रेमको भोको हुन्छ, सबैभन्दा धेरै कुरा गरिने विषय प्रेम नै हो', म्युजिक भिडियो र चलचित्र निर्माणपछि लेखनतर्फ पाइला अघि बढाएकी संगीता श्रेष्ठ आफ्ना प्रेमिल भावना यसरी पोख्छिन्, ‘कसैलाई मनमा राखेर कहिल्यै बिर्सन सकिँदैन भने त्यो प्रेम हो।'रिलमा अरूका कथा धेरै उतारेकी संगीता 'रियल लाइफ'मा भावुक छिन्। यही भावुक स्वभावकै कारण उनी अरूको पीडा बुझ्न सक्छिन् । त्यसैले पुस्तकमा अरूको जीवनबाट बुझेका र आफ्नो भोगाइभन्दा टाढाका विषयहरू समेटेकी छन्।
उनी भन्छिन्, ‘पर्सनल लाइफमा म ह्यापिली म्यारिड वुमन हुँ, तर मेरो संगतमा प्रेममा पीडा भोगेका धेरै मान्छेहरू छन्। उनीहरूकै कथा किताबमा छ।'
व्यावसायिक भिडियो निर्देशनको सिलसिलामा गाउँगाउँमा पुग्दा थुप्रै कथाहरू भेटिन्थे तर तिनलाई पाँच मिनेटको समय सीमाभित्र अटाउन सकिँदैनथ्यो। आफूले म्युजिक भिडियोमा अँटाउन नसकेका कथालाई शनिबार नेपालयले सार्वजनिक गर्ने आफ्नोको पहिलो पुस्तक ‘कथामा अल्झिएका प्रेम'मा समेट्न खोजेको उनी बताउँछिन्।
आफ्नै भोगाइ नभए पनि अरूका कथालाई इमानदार भएर लेखेको उनको दाबी छ।लामो समयदेखि म्युजिक भिडियो निर्देशनमा निरन्तरता दिने उनी एक्ली महिला हुन्।
टेलिभिजनमा कार्यक्रम उत्पादन तथा प्रस्तोताको रूपमा आबद्ध उनले पाँच दर्जन म्युजिक भिडियो र 'कथा प्रेमका' शीर्षकमा १३ वटा छोटा चलचित्र निर्माण गरेकी छन्। भिडियो निर्देशनको क्रममा स्क्रिप्ट लेख्दालेख्दै पुस्तकतिर लम्किएकी संगीताका छोटा चलचित्रले धेरैको मनमा छाप छोडेको छ।
तिनै चलचित्रका विषयवस्तुलाई बृहत् रूपमा उनको पुस्तकमा पढ्न सकिनेछ। दसवटा कथा समेटिएको पुस्तकमा मिलन र बिछोडका कथा बराबरी छन् । तर वियोग अनिच्छित कुरा भएकाले यो धेरैको मनमा गडिरहन्छ।
उनले भनिन्, ‘जीवन सधैं सोचेजस्तो हुँदैन, कसैको बिछोड होस् भन्ने चाहन्न, तर कथामा प्रेमी पनि राखेको भए भए सायद यस्तो कथा सिर्जना हुँदैनथ्यो।' कतै किशोरकिशोरीको प्रेम त कतै ४० वर्ष उमेर काटेकाहरूको प्रेम, पुस्तकमा फरक उमेर र परिस्थितिमा हुने प्रेमलाई समेटिएको छ।
'जुनसुकै उमेरमा पनि प्रेम गर्ने मान्छेले संसार रंगीन देख्छ', उनले भनिन्, 'प्रेमबिना जीवन व्यर्थ हुन्छ।' आकर्षण र प्रेमको बीचको झिनो अन्तरलाई छुट्याउन सक्नेले नै परिपक्व प्रेम गर्छ। जुनसुकै उमेरमा भए पनि साँंचो प्रेमलाई कच्चा भन्न नमिल्ने उनको तर्क छ।
विवाहलाई नै प्रेमको गन्तव्य ठान्नेहरू पनि प्रशस्त छन्। कसैकसैले प्रेमलाई कमजोरी ठानिरहेका पनि हुन्छन्। संगीता भन्छिन्, 'प्रेम गर्न सक्नु आफैंमा बलियो पक्ष हो र प्रेमको गन्तव्य सँगै हुनु होइन, टाढा रहेर पनि प्रेम गर्न सकिन्छ।'
सामान्यता पुस्तकलाई चलचित्रमा उतार्ने चलन छ। तर संगीताले यसको ठीक उल्टो बाटो रोजिन्, चलचित्रलाई पुस्तकमा समेट्न खोजेर। यो कुनै योजनाबिना नै भएको रहेछ।
स्क्रिप्ट लेख्दालेख्दै उनको लेखनशैली धेरैलाई मन पर्न थाल्यो। नजिकका साहित्यकारहरूसँगको उठबसपछि पुस्तक लेख्न सफल भइन्। एक वर्षअगाडि नै लेख्न सुरु गरेको पुस्तकको अन्तिम रूप दिन उनले आफ्नो सुत्केरी बिदाको समय सदुपयोग गरिन्।
आफ्नी छोरी र पुस्तकलाई सँगसँगै हुर्काइन्। राति दुईचार लाइन नपढी निद्रा लाग्दैन र बिहान उठ्नासाथ दुईचार अक्षर नपढी दिनको सुरुवात हुँदैन। एक हिसाबले उनलाई पढ्ने नशा लागेको रहेछ। यसैले पनि पुस्तक लेख्न प्रेरित गर्यो।
पटकथा लेख्दा प्राविधिक कुरालाई ध्यानमा राखेर लेख्ने बानी भएकी संगीतालाई पुस्तक लेख्दा स्वतन्त्र महसुस भयो । पुस्तक लेखनमा उनले कुनै समयसीमा र अक्षर सीमाको लागि सम्झौता गर्नुपरेन।
साहित्यकारहरू अझै १० वर्षे द्वन्द्वकालका विषयबाट उम्किन सकेका छैनन् । संगीताले पनि द्वन्द्वकाललाई छोड्न सकिनन्। द्वन्द्वकालले छोडे पनि यसको असरले अझै छोडेको छैन। 'त्यसबेला पनि प्रेम त थियो नि त, आफैं लडाकुको रूपमा होमिएको मान्छेभित्र पनि प्रेम त छ नि, सायद हामीले फर्किएर त्यस विषयलाई हेरेनौं कि,' उनले भनिन्, 'त्यसबेलाका कति कथा अधुरै थिए कि?'
नौ वर्षको प्रेमसम्बन्धपछि विवाह गरेकी संगीता आफैंले पनि प्रेमलाई गहिरो रूपमा महसुस गरेकी छन्। कहिलेकाहीँ आफैंले लेखेका कथा पढेर, भिजुअल हेरेर रुन्छिन्। प्रेमीलाई श्रीमान्को रूपमा मात्र नभई आफ्नो ऊर्जाको रूपमा लिएकी छिन्।
कामको हिसाबले नयाँ अनुभव पुस्तक लेखनबाट पाउँदै गर्दा केही 'नर्भस' महसुस भएको छ रे। यसले उनलाई नयाँ बाटोमा डोर्याउन थालेको छ। भन्छिन्, 'लेख्ने कामलाई स्टप चाहिँ गर्न सक्दिनँ सायद।' पुस्तकको तयारीले लेखन मोह अझै बढाएको छ।
फुर्सद भयो कि लेखिहालुँ जस्तो लाग्छ उनलाई। सामान्य गफमा पनि लेखनको विषयवस्तु खोज्न थालेकी छिन्। प्रेमको कुरालाई लेख्दा लेख्दै उनी लेखनलाई नै प्रेम गर्न थालेकी छिन्। त्यसैले भन्छिन्, 'मनदेखि माया गर्नेका लागि मेरो तर्फबाट उपहार हो, कथामा अल्झिएका प्रेम।'
annapurnapost
0 comments
Write Down Your Responses