आजैदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिण्डर
काठमाडौं: आपूर्ति मन्त्रालयले आज (सोमबार) देखि ग्यास उद्योगीलाई पूर्ण तौंलको सिलिण्डर बितरण गर्न निर्देशन दिएको छ ।मन्त्री गणेशमान पुनको अध्यक्षतामा बसेको बैठकले ग्यास आयातमा केही सहजता आएकाले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डर बितरण गर्न उद्योगीहरुलाई अनुमति दिएको छ ।
बैठकले पूर्ण तौंलको सिलिण्डर बितरण गर्ने बिषयमा निर्णय गरेको हो । यो निर्णयसँगै अब ग्यास उद्योगीले सोमबारबाट नै उपभोक्तालाई पूर्ण तौलको सिलिण्डर बिक्री गर्नुपर्नेछ ।
भारतको अघोषित नाकावन्दीका कारण गत असोज ६ गतेपछि ग्यासको आपूर्तिमा असहजता आएपछि तत्कालिन समयमा सरकारले आधि तौल(७.१ किलो) सिलिण्डर बितरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
पूर्ण तौलको सिलिण्डरलाई दुई भागमा बाँडेर सात सय मूल्यमा आधा सिलिण्डर बितरण गर्ने प्रणाली सरकारले लागू गरेको थियो ।
मन्त्रालयले नेपाल एलपिजी ग्यास उद्योग संघ, नेपाल आयल निगम र उपभोक्तावादी संघसंस्थाको सुझावको आधारमा पूर्ण तौलको सिलिण्डर बितरण गर्ने बिषयमा निर्णय गरेको हो ।
ग्यास उद्योगी संघले गत माघ पहिलो सातादेखि नै पूर्ण तौलको सिलिण्डर बितरण गर्न पाउनुपर्ने माग राखेर मन्त्रालयसँग छलफल गर्दैआएको थियो ।
केही उद्योगीले माघदेखि नै पूर्ण तौलका सिलिण्डर सिमित संख्यामा बितरण गर्दै आएका थिए । आधि तौंलको सिलिण्डर बितरण गरिएका कारण झण्डै तेब्बर संख्याको सिलिण्डर उपभोक्ताको घरमा ‘होल्डिङ्ग’ भएर बसेको छ ।
पछिल्लो समयमा ग्यासको बुलेट आपूर्तिमा केही सुधार भएपनि सिलिण्डरको अभाव हुँदा उपभोक्ताले सजिलै समयमा सिलिण्डर पाउन सकेका छैनन् । ग्यासको अभाव हुँदा एउटा उपभोक्ताले कम्तिमा तीनदेखि पाँचवटा ब्राण्डको सिलिण्डर प्रयोग गर्न बाध्य भएका थिए ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार अहिले दैनिक ४० वटा बुलेट नेपाल भित्रिँदै आएको छ । ‘तर हामीलाई दैनिक ६० बुलेटको आवश्यकता छ’, उनले भने ।
नेपाल भित्रिने ४० बुलेटमध्ये २० बुलेट उपत्यकाका लागि आउछ भने बाँकी २० बुलेट उपत्यकाबाहिरका उद्योगमा जान्छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशन(आईओसी) ले जाडोयाममा ग्यासको उत्पादन कम भएको र उत्पादित ग्यास पनि जाडो यामका कारण भारतको आन्तरिक बजारमै बढी खपत हुने भएको भन्दै निगमलाई मागअनुसार ग्यास आपूर्ति दिन बहाना गर्दै आएको छ ।
स्रोतका अनुसार आईओसीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात मागअनुसार आपूर्ति दिने निगमलाई आश्वासन दिएको छ ।
अहिले नेपालमा ५३ वटा ब्राण्डमा ६५ लाख सिलिण्डर उत्पादन हुन्छ । मुलुकभर ६५ लाख सिलिण्डरको माग छ । त्यसमध्ये ३० लाख उपत्यकामा खपत हुन्छ । सामान्य समयमा देशभर २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ ।
निगमले प्रति सिलिण्डरमा ९९ रुपैयाँ घाटा खाएर बिक्री गर्दै आएको छ । मासिकरुपमा ग्यासतर्फ निगमले चार करोड घाटा व्यहोर्दै आएको छ ।
annapurnapost
0 comments
Write Down Your Responses